सपना समानताको ..........

.

बाजुरा, मंसिर २२ -
अर्जुन शाह 
 बाल्यावस्थाका नवीन र रण विकलाई पनि आफ्ना साथीसंगीझैं बाबुआमा र बाजेबजैसँगै बस्ने रहर छ । तर उनीहरूकी आमा दमाई थरकी भएकाले उनका लोहार जातिका अभिभावकले बच्चालाई समेत घर पस्न दिँदैनन् । उनीहरूले छोएको पानी पनि चलाउँदैनन् । काकाको छोराको विवाहमा समेत नवीनलाई अछूत भन्दै बिहेवारीमा जान नदिएपछि उनीहरू झनै चिन्तामा परेका छन् ।
मार्तडी ८ की धर्मा दमाईलाई स्थानीय जयबहादुर लोहारले डेढ दशकअघि प्रेम विवाह गरेका थिए । दुवैको मन मिलेर गरेको विवाहलाई जयबहादुरको परिवारले स्विकारेन । आफूभन्दा तल्लो जातकी भन्दै सासूससुरा र गाउँ समाजले नस्विकारेपछि १५ वर्षदेखि आफू श्रीमान्को घर बस्न नपाएको धर्माले सुनाइन् । जातीय विभेदबाट घरपरिवार र समाजले नस्विकारेपछि धर्मा र उनका छोरा जन्मेदेखि नै अलपत्र छन् । 'पानी चलाउने र चुलोचौकामा जान दिने त परै जाओस् घरभित्र पस्नै दिँदैनन्,' धर्माका जेठा छोरा १३ वषर्ीय नवीनले दुःखेसो पोखे ।' उनले भने, 'हामीलाई बाबुआमासँगै बस्ने रहर छ, तर पाएका छैनौं ।
पछिल्लो समयमा आफूहरू माथिको पीडा थपिँदै गएको धर्माले बताइन् । पूरै समाजले बहिष्कार गरिरहेको बताउँदै सामाजिक काममा समेत आफूहरूलाई अछूतको टीका लगाइएको उनले दुःखेसो पोखिन् । 'सिंगो समाजले अछूत व्यवहार गरेपछि जिउनै मुस्किल परेको छ,' उनले भनिन्, छोराहरूलाई पनि घर बस्न नदिएपछि मावली घरमा राखेर पढाएकी छु । दुई छोरा स्थानीय मालिका उच्च माविमा कक्षा ५ र ४ मा पढ्छन् ।
वर्षौंदेखिको सहँदै आएको पीडा पोख्ने ठाउँ थाहा नपाएर आफू मनमनै गुम्सिनुपरेको धर्मा बताउँछिन् । अहिले आएर उनका श्रीमान्लाई समेत गाउँ समाजले दबाबमा पारेको छ । तल्लो जातकी धर्मालाई त्याग्नुपर्ने वा समाज छोड्नुपर्ने भएको जयबहादुरले बताए । श्रीमतीप्रति कुनै घृणा नभए पनि घरपरिवारले आफैंलाई बहिष्कार गर्दा धर्मा र छोराहरूलाई अलग राखेको उनले सुनाए । उनी बाबुआमाले आफ्नो किरियाकर्मसमेत नगर्न कडाइ गरेपछि परिवारसित अलग्गै बस्दै आएका छन् ।
जयबहादुरका बुबा जोगा बुहारी र नातिहरूलाई बहिष्कार गरिरहेको स्विकार्छन् । छरछिमेक र गाउँ समाजले दमाईकी छोरीलाई बुहारी नस्विकारेपछि आफू पनि त्यसै कुरामा रहनुपरेको जोगाले बताए । यहाँको समाजमा दलित समुदायभित्रको जातीय विभेद डरलाग्दो अवस्थामा रहेको दलित समुदायका अगुवा बताउँछन् । 'लोहारले दमाईलाई आफूभन्दा तल्लो जातको ठान्ने सामाजिक परम्परा छ । यी जातिबीच भएको बिहेवारीलाई स्थानीय समाजले नस्विकार्ने परम्परा छ,' दलित महिला संघकी जिल्ला अध्यक्ष शान्ति ध्वजालीले भनिन् ।
मार्तडीका दलित अगुवा विनोदकुमार विकसमेत दलित समुदायभित्रकै जातीय विभेदको चपेटामा धर्मा र उनका दुई छोराहरू  परेका बताउँछन् ।
 प्रकाशित मिति: २०६८ मंसिर २२ १०:०१

0 अमुल्य सुझाब /प्रतिक्रिया:

Post a Comment

सुझाब प्रतिकृया लेख्दा असभ्य र अशिस्ट प्रयोग नगरिदिनुहोला।

Followers